कैलाश माझी / सप्तरी
सप्तरीको कंचनरुप नगरपालिका–स्थित कंचनपुर नगर अस्पतालले सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित भिडियो एक्सरे (अल्ट्रासोनोग्राफी) प्रतिवेदन सम्बन्धी समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अस्पतालले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा अस्पतालमा विगत दुई वर्षदेखि रेडियोलोजिस्ट डा. अमरेन्द्र कुमार महतो मार्फत अल्ट्रासोनोग्राफी सेवा सञ्चालन हुँदै आएको जनाएको छ।
विज्ञप्तिअनुसार कंचनरुप नगरपालिका–१० निवासी ८० वर्षीय पुरुष बिरामी झमेली खंग लाई मिति २०८३ जेठ २२ गते ओपीडीबाट भिडियो एक्सरेका लागि सिफारिस गरिएको थियो। सोही बिरामीको जेठ २३ गते डा. महतोले भिडियो एक्सरे परीक्षण गरेका थिए।
अस्पतालका अनुसार परीक्षणका क्रममा प्राप्त इमेज र सोनोग्राफी अवलोकन गर्दा प्रतिवेदनमा प्रोस्टेट (Prostate) सम्बन्धी मापन तथा विवरण उल्लेख गरिएको छ, जसले परीक्षण पुरुष बिरामीलाई लक्षित गरी गरिएको स्पष्ट देखाउने दाबी गरिएको छ।
तर प्रतिवेदन तयार गर्ने क्रममा प्रयोग हुने कम्प्युटर टेम्प्लेटमा पहिलेदेखि समावेश रहेको ‘Uterus’ तथा ‘B/L Adnexa’ सम्बन्धी वाक्यांश हटाउन छुटेकाले ती शब्द अन्तिम प्रतिवेदनमा समेत समावेश हुन पुगेको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले उक्त घटना चिकित्सकीय परीक्षण वा रेडियोलोजिकल मूल्याङ्कनमा भएको त्रुटि नभई ‘मानवीय टाइपिङ (Clerical/Typographical Error)’ का कारण भएको स्पष्ट पारेको छ।
साथै अस्पतालले आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन प्रतिवेदन जारी गर्नु अघि थप पुनरावलोकन (Cross-Checking) तथा गुणस्तर नियन्त्रणका उपायहरू कडाइका साथ लागू गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
अस्पताल प्रशासनले सर्वसाधारणलाई सही सूचना ग्रहण गर्न अनुरोध गर्दै तथ्यभन्दा फरक ढंगले भ्रम फैलाउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।