फरार दुई प्रतिवादी पक्राउ, पाँच दिनको म्याद थप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज, साउन २८ गते।

कैलाश माझी : जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न आपराधिक घटनामा संलग्न भई फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरीका अनुसार पक्राउ पर्नेमा बोदेबर्साइन नगरपालिका–१० खडकपुर टोल बस्ने करिब २० वर्षीय अब्बु कुमार यादव र बोदेबर्साइन नगरपालिका–८ काचन टोल बस्ने करिब ५५ वर्षीय बद्री दास रहेका छन्।

ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

प्रहरीका अनुसार २०८२ साल चैत २२ गते साँझ करिब ५ः३० बजे बोदेबर्साइन नगरपालिका–१० खडकपुर टोलमा एक व्यक्तिलाई ज्यान मार्ने नियतले लाठी र फलामको रडले शरीरका विभिन्न भागमा प्रहार गरी घाइते बनाएको तथा उनले लगाएको सुनका गरगहना समेत लुटेर फरार रहेका अब्बु कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो।

घटनापछि फरार रहेका यादवलाई खोजतलास गर्ने क्रममा साउन २६ गते बोदेबर्साइन नगरपालिका–१० खडकपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

उक्त घटनासम्बन्धी मुद्दा इलाका प्रहरी कार्यालय कडरबोनामा दर्ता भएको र पक्राउ परेका यादवलाई सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विष सेवन गराई हत्या गरेको आरोपमा पक्राउ

त्यस्तै, बोदेबर्साइन नगरपालिका–८ काचन टोल बस्ने करिब ५५ वर्षीय बद्री दासलाई विष सेवन गराई कर्तव्य गरी ज्यान मारेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २०७७ कात्तिक १७ गते राति करिब १२ः३० बजे बुहारी शिवकुमारी दासले छोरी जन्माएको विषयलाई लिएर प्रतिवादीले पटक–पटक यातना तथा कुटपिट गर्ने गरेको र जबर्जस्ती विष सेवन गराई उनको मृत्यु भएको आरोप छ।

घटनापछि फरार रहेका बद्री दासलाई खोजतलास गर्ने क्रममा साउन २६ गते बोदेबर्साइन नगरपालिका–८ काचन टोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मृतकका बुवा रामदेव दासको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कडरबोनामा मुद्दा दर्ता गरिएको छ। पक्राउ परेका दासलाई पनि सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।