सिरहा । सिरहामा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना साइकलयात्री घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाले जारी गरेको विवरणअनुसार, २०८३ असोज ३ गते शनिबार बिहान करिब ७ः३५ बजे नरहा गाउँपालिका–३ स्थित रोजी मेडिकल नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा दुर्घटना भएको हो।
प्रहरीका अनुसार गोलबजारबाट मिर्चैयातर्फ जाँदै गरेको ना.४ ख ८५०४ नम्बरको ट्रकले साइकलयात्री र पैदलयात्रीलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट सोही स्थानका करिब ५१ वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
दुर्घटनामा सोही स्थानका करिब ४५ वर्षीय राजातुल अंसारी घाइते भएका छन्। प्रहरीका अनुसार अंसारीको दुवै खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, दुर्घटनामा संलग्न ट्रक चालक धनुषाको मिथिला नगरपालिका–९ का करिब २५ वर्षीय कमलेश महतो सकुशल रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।