मदरसा छानबिनदेखि शहीद घोषणासम्म, कप्तानगञ्ज घटनामा सरकारको ६ बुँदे प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुनसरी,साउन १५।

कैलाश माझी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच ६ बुँदे सम्झौता भएको छ। गृह मन्त्रालय र मृतकका अभिभावकबीच साउन १४ गते भएको सम्झौतामा घटनासँग सम्बन्धित मागहरू यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको हो।

सम्झौताअनुसार सरकारले मृतक दुवैलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
यस्तै, साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने उल्लेख गरिएको छ।

सम्झौतामा देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने सहमति पनि भएको छ।

त्यसैगरी, मृतक प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कानुनबमोजिम कार्यान्वयन गर्ने, साथै मृतकहरूको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।

सम्झौतापत्रमा गृहमन्त्री शरण गुरुङ तथा मृतक ओमप्रकाश मेहताका अभिभावक कृष्णदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्। सरकारले सम्झौतामा उल्लेखित सबै बुँदा यथाशीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।