सिन्धुली, जेठ १८ ।
कैलाश माझी : प्रतिनिधिसभा सदस्य (माननीय) भएको झुटो परिचय दिई ट्राफिक प्रहरीसहित विभिन्न व्यक्तिमाथि अनुचित दबाब र प्रभाव पार्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका–७ माझिटार निवासी करिब ३६ वर्षीय लोकबहादुर तामाङ लाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार तामाङले आफू सिन्धुली क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्की भएको भन्दै झुटो परिचय दिएर ट्राफिक प्रहरी लगायत विभिन्न व्यक्तिलाई फोनमार्फत दबाब दिने, सरकारी कामकारबाहीमा अनुचित प्रभाव पार्न खोज्ने तथा अभद्र व्यवहारसमेत गरेको भन्ने सूचना प्राप्त भएको थियो।
उक्त सूचनाको आधारमा प्रहरीले उनलाई जेठ १४ गते पक्राउ गरेको जनाएको छ। पक्राउ परेका तामाङमाथि अभद्र व्यवहार गर्न नहुने कसुर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उज्वल कार्कीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।