जनकपुर, साउन १७।
कैलाश माझी : धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बजरंग चोकबाट भन्सार छलीका करिब १३ लाख ९४ हजार ८ सय रुपैयाँ बराबरका सामानसहित एक पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार साउन १७ गते दिउँसो करिब १ बजे जिरोमाइलबाट महेन्द्रनगरतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ च ०४३० नम्बरको पिकअपलाई प्रहरी चौकी जनकपुरधामबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा पिकअपमा भन्सार छली गरी ल्याइएका विभिन्न किराना सामान फेला परेपछि पिकअपसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने चालक धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–६, महेन्द्रनगर निवासी २१ वर्षीय ललित यादव रहेका छन्।
प्रहरीले पिकअपबाट १० बोरा चिनी, ४ कार्टुन अचार, १५ प्याकेट रजनीगन्धा, ३० प्याकेट तुलसी लगायतका सामान बरामद गरेको छ। बरामद सामानको अनुमानित मूल्य रु. ९४ हजार ८ सय र पिकअपको मूल्य रु. १३ लाख गरी कुल रु. १३ लाख ९४ हजार ८ सय बराबर रहेको प्रहरीले जनाएको छ।
बरामद सामान, पिकअप र चालकलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।