जातीय विभेद र विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो बनाएको आरोपमा २४ वर्षीय युवक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, भदौ २२ गते।

कैलाश माझी : सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने तथा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने र अपमानित गर्ने सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटी काठमाडौंका अनुसार जिल्ला बैतडी, सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परेका हुन्।

प्रहरीका अनुसार २०८२ साल भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विषयलाई लिएर विभिन्न जातजातिलाई लक्षित गर्दै होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने खालको भिडियो सामग्री तयार गरी सामाजिक सञ्जाल फेसबुकको रिलमार्फत प्रसारण गरिएको थियो।

उक्त भिडियो सामग्रीका सम्बन्धमा साइबर ब्यूरोले प्राविधिक विश्लेषण तथा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा भिडियो प्रसारणमा संलग्न रहेको खुलेपछि ब्यूरोबाट खटिएको टोलीले मडैलाई २०८३ साल भदौ २० गते पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मडैलाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालको प्रयोग गर्दा जातीय, धार्मिक तथा सामाजिक सद्भावमा आघात पुग्ने, कसैलाई होच्याउने वा अपमानित गर्ने सामग्री प्रसारण नगर्न आग्रह गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।