काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को e-GP (e-Government Procurement) प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटी, काठमाडौंले २०८३ असोज १९ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार e-GP प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काका आर्थिक प्रस्तावका कागजातहरू हेरफेर गरिएको सम्बन्धमा प्राप्त निवेदनका आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषण गरिएको थियो।
प्रहरीका अनुसार विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावसँग सम्बन्धित डकुमेन्ट परिवर्तन गर्ने कार्य भएको विषयमा अनुसन्धान अघि बढाइएको थियो।
प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट संलग्नता खुलेका ८ जनालाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले २०८३ असोज १६ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेकाहरूमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिपकराज अवस्थीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।