सप्तरी, असोज ४ गते ।
कैलाश माझी : सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलबाट प्रहरीले करिब २ हजार किलो (२० क्विन्टल) गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले फतेपुर टोलमा भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका गाँजाजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। बरामद पदार्थको कुल तौल अन्दाजी २ हजार किलो (२० क्विन्टल) रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद पदार्थसहित भोला सदा र मंगल मुखियालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।