बैंक कर्मचारी बनेर KYC अपडेटको बहाना, OTP मार्फत रकम ठगी गर्ने गिरोह पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, भदौ

बैंकबाट फोन गरेको भन्दै KYC अपडेटका नाममा कर्मचारीको बैंक खातामा पहुँच पुर्‍याई रकम ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पछिल्लो समय बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी ठगी गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा प्राविधिक विश्लेषण तथा अनुसन्धान अघि बढाइएको थियो।

गिरोहका सदस्यहरूले ‘बैंकबाट बोलेको हुँ, KYC अपडेट गर्नुपर्‍यो’ भन्दै पीडितलाई फोन तथा ह्वाट्सएप कल गर्ने गरेको प्रहरीले जनाएको छ। कुराकानीका क्रममा उनीहरूले पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाउने तथा OTP कोड माग्ने वा प्राप्त गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

OTP लगायतका संवेदनशील विवरण प्राप्त गरेपछि पीडितको बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई खातामा रहेको रकम अन्य बैंक खातामा रकमान्तर गरी ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

साइबर ब्यूरोबाट गरिएको प्राविधिक विश्लेषणका क्रममा पहिचान भएका चार जनालाई ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवनबाट २०८३ साउन ३१ गते पक्राउ गरेको हो।

पक्राउ पर्नेमा—
अभय तिवारी, २२ वर्ष, देउताल गाउँपालिका–४, बारा।
•जय कुमार केवट, २२ वर्ष, रामग्राम नगरपालिका–१६, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)।
•विद्या सागर केवट, २२ वर्ष, रामग्राम नगरपालिका–१७, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)।
•कुवेर थापा (दिलीप कुमार गिरी), २७ वर्ष, वीरगञ्ज महानगरपालिका–३, पर्सा।

पक्राउ परेका उनीहरूविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ।

प्रहरीले बैंक तथा वित्तीय संस्थाका नाममा आउने अपरिचित फोन, म्यासेज वा ह्वाट्सएप कलप्रति विशेष सावधानी अपनाउन आग्रह गरेको छ। KYC अपडेट, बैंक खाता प्रमाणीकरण वा अन्य कुनै बहानामा OTP, पासवर्ड, PIN तथा मोबाइल स्क्रिन सेयर गर्न लगाउने व्यक्ति वास्तविक बैंक कर्मचारी नहुन सक्ने भएकाले त्यस्ता विवरण नदिन प्रहरीले सचेत गराएको छ।

साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिलीप कुमार गिरीले जारी गरेको प्रेस विज्ञप्तिमा डिजिटल माध्यमबाट हुने यस्ता ठगी नियन्त्रणका लागि अनुसन्धान तथा कारबाहीलाई निरन्तरता दिइने जनाइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।