बारा — बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, तीन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार २०८३ असोज ९ गते राति करिब ११ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट स्कुटर चालक मोरङ, लाङटाङ नगरपालिका–१ का अन्दाजी ३५ वर्षीय योगेन्द्र मगर गम्भीर घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते मगरलाई उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएकोमा उपचारकै क्रममा राति ११ बजेर ५० मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रकाशकुमार खत्री तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायव उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार तथा घटनास्थल व्यवस्थापन गरेको थियो।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालक जितपुरसिमरा उपमहानगरपालिका–२१ का अन्दाजी ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।