आन्दोलन फिर्तापछि धनुषाबाट निषेधाज्ञा हटाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम, साउन १७।

धनुषा जिल्लामा जारी निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि तथा जिल्लाको सुरक्षा अवस्था र जनजीवन सामान्यतर्फ उन्मुख भएको निष्कर्षसहित निषेधाज्ञा हटाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा साउन १८ गते सोमबार बिहान ५:०० बजेदेखि जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा लागू गरिएको निषेधाज्ञा हटाइएको छ।

यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम साउन १६ गते बिहान १० बजेदेखि जनकपुरधामसहित जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो। पछिल्ला दिनमा आन्दोलनरत पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको, सुरक्षा अवस्था सुधारिएको र जनजीवन सामान्य बन्दै गएको मूल्याङ्कनपछि प्रशासनले निषेधाज्ञा हटाएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले शान्ति, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।