११ वर्षअघि अपहरणपछि हत्या गरेको आरोपमा फरार दुई प्रतिवादी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी, असार 

कैलाश माझी : अपहरण गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा विगत ११ वर्षदेखि फरार रहेका दुई प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मिति २०७२ साल भदौ २९ गते सप्तरीको तत्कालीन सुरुङ्गा नगरपालिका–९ मा भएको अपहरण तथा हत्या घटनामा संलग्न रही फरार रहेका प्रतिवादीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा सप्तरीको सुरुङ्गा नगरपालिका–९ निवासी ६९ वर्षीय दाउद मियाँ तथा सिराहाको लहान नगरपालिका–१९ निवासी ६० वर्षीय नसिर भन्ने बसिर मियाँ रहेका छन्।

प्रहरीका अनुसार घटनाका जाहेरवाला रोशन खातुनका ससुरा ऐनुल मियाँ आफ्नै घरमा बसिरहेको अवस्थामा अपहरण गरी लगिएको थियो। अपहरणपछि उनलाई बन्धक बनाई बलान खोलाको पूर्वतर्फ रहेको पैनी (पानी बगेको नाला) नजिक पुर्‍याई पानीमा डुबाएर तथा मुख थुनेर हत्या गरिएको आरोप छ।

घटना पश्चात दुवै प्रतिवादी फरार रहेका थिए। लामो समयदेखि फरार रहेका उनीहरूको खोजतलासका क्रममा प्रहरीले दाउद मियाँलाई २०८३ जेठ २४ गते सुरुङ्गा नगरपालिका–९ बाट पक्राउ गरेको थियो। त्यसपछि नसिर भन्ने बसिर मियाँलाई २०८३ जेठ ३१ गते सप्तरीको बलानबिहुल गाउँपालिका–१ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै प्रतिवादीविरुद्ध अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको छ। दाउद मियाँलाई पहिलो पटक पाँच दिन र दोस्रो पटक थप पाँच दिन म्याद थप गरिएको छ भने नसिर भन्ने बसिर मियाँलाई तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

११ वर्षअघि भएको जघन्य अपराधका आरोपितहरू पक्राउ परेसँगै पीडित परिवारले न्यायको आशा व्यक्त गरेका छन्। यद्यपि घटनाको थप तथ्य, कारण र अन्य सम्भावित संलग्न व्यक्तिबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरे ले फरार अभियुक्तहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने बताएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।