गौर हत्याकाण्ड : १९ वर्षपछि उपेन्द्र यादवसहितमाथि अनुसन्धान गर्न सर्वोच्चको परमादेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझी,सप्तरी : १९ वर्षअघिको गौर हत्याकाण्डमा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवमाथि पनि अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई गौर हत्याकाण्ड सम्बन्धी मुद्दामा यादवमाथि अनुसन्धान अगाडि बढाउन आदेश दिएको हो।

हत्याकाण्ड भएको लामो समय बित्दासमेत राज्यले दोषीमाथि कानुनी कारबाही गर्न नसकेपछि पीडित परिवार तर्फबाट त्रिभुवन साहले २०८० साल जेठ २१ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए।

२०६३ साल चैत ७ गते तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबीच गौरमा भएको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो भने ५० भन्दा बढी कार्यकर्ता घाइते भएका थिए।

यस घटनामा तत्कालीन मधेसी जनअधिकार फोरमका शीर्ष नेता उपेन्द्र यादव, पूर्वसभासद बबन सिंह, मधेश प्रदेशसभाका पूर्वसांसद बाबुलाल साहलगायत १ सय १३ जनाको नाम जोडिएको छ। तर लामो समयसम्म कानुनी प्रक्रिया अघि नबढ्दा पीडित परिवारले न्याय नपाएको भन्दै निराश हुँदै आएका थिए।

सर्वोच्च अदालतको आदेशपछि अब जिल्ला प्रहरी कार्यालय रौतहटले घटनासम्बन्धी नयाँ अनुसन्धान अघि बढाउनु पर्ने बाध्यता सिर्जना भएको छ।

पीडित परिवारले यसलाई न्यायको खोजीमा महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन् भने घटनामा संलग्न ठहरिने व्यक्तिलाई कारबाही गर्ने माग पुनः चर्किएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।